राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ६ चैत्र, २०८२
२०८२ चैैैत्र ६, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा फिर्ता लिँदै उनलाई निरन्तरता दिने प्रस्ताव बैठकमा राखेका हुन् ।
उपसभापति शर्माले राजीनामा अस्वीकृत गर्ने प्रस्तावसँगै पार्टीको हालैको चुनावी समीक्षा प्रतिवेदन पनि प्रस्तुत गरेका छन् । पर्याप्त समयको अभाव नेतृत्व सम्हालेको ५० दिनको छोटो अवधि मात्र भएकाले सो समय मेहनतका लागि पर्याप्त नभएको निष्कर्ष पार्टीले निकालेको छ ।
प्राप्त जानकारी अनुसार अधिकांश केन्द्रीय सदस्यहरू सभापति थापाको राजीनामाको विपक्षमा देखिएका छन् । सदस्यहरूले वर्तमान परिस्थितिमा राजीनामा भन्दा पनि पार्टी सुधार र संगठन सुदृढीकरणमा जोड दिनुपर्ने धारणा राखेका छन् ।
निर्वाचनको नतिजापछि उत्पन्न परिस्थितिलाई सम्हाल्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउन थापाकै नेतृत्व आवश्यक रहेको धेरै सदस्यहरूको बुझाइ छ ।