राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ७ फाल्गुन, २०८०
काठमाडौँ। नेपाली कांग्रेसको महासमिति बैठक आजबाट ललितपुरको गोदावरीमा सुरु हुदै छ । महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य काठमाडौं आइपुगेका छन्।
महासमितिको आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेश गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको बताइएको छ ।
बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुने छन् ।
महासमिति बैठकमा कांग्रेस एक्लै चुनावमा जाने कि गठबन्धन गरेर जाने भन्ने बिषयमा चर्को बहस हुने देखिएको छ ’ महासमितिको बैठकबाट यो विषयमा नीतिगत निर्णय गराउने अडानमा संस्थापन इतर पक्ष लागेको छ तर संस्थापन पक्ष भने चुनावी गठबन्धनबारे अहिल्यै नीति बनाउन नहुने अडानमा छ। पार्टीले यस्तो नीति लिए हालकै सत्तागठबन्धनमा असर पर्ने सभापति शेरबहादुर देउवा पक्षको बुझाइ रहेको छ।
राजनीतिक स्थायीत्व, रुपान्तरण र नविनता, स्वतन्त्रता न्याय र समानता भन्ने मूल नाराका साथ सुरु हुने महासमिति बैठक फागुन १० गतेसम्म चल्ने कांग्रेसले जनाएको छ।