राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ३० फाल्गुन, २०८०
काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिले आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले शपथ गराएका हुन्।
मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयमा आज बुधबार नियुक्त भएका मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई बुधबार नै पदमुक्त गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुख नियुक्ति सिफारिस गरेको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो।