बिहीबार, २८ जेष्ठ, २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्‍तो छ कार्यसूची ?

राष्ट्रिय सन्‍देश संबाददाता, २१ घण्टा पहिले

प्रतिनिधि सभा बैठक बस्दै, यस्‍तो छ कार्यसूची ?

२०८३ जेष्ठ २७, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बुधबार बिहान ११ बजे संसद् भवन सिंहरबारमा बस्दै छ । आजको बैठकका लागि संसद् सचिवालयले विभिन्न महत्वपूर्ण विधायिकी र आर्थिक कार्यसूचीहरू तय गरेको छ ।

बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा सदनसमक्ष पढेर सुनाउनुहुनेछ भने कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरिएको बेहोरा पनि जानकारी गराउनेछन् । यसैगरी, सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट तोकिएको अवधिभित्र फिर्ता नभएको सम्बन्धी जानकारी पनि सदनलाई दिनुहुने कार्यसूची रहेको छ।

आजको बैठकको मुख्य आकर्षण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र विभिन्न विधेयकहरूको प्रस्तुति रहनेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउनेछन् भने चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसका साथै आगामी आर्थिक वर्षको आर्थिक कार्ययोजनालाई अगाडि बढाउन अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकको अन्त्यतिर बजेटमाथि यसअघि भएका विभिन्न छलफलका क्रममा माननीय सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा र सुझावहरूको संसद्‌मा अर्थमन्त्रीले आधिकारिक जवाफ दिने कार्यसूची समेत तय गरिएको छ ।

advertisement_1676551646.gif