राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ३० फाल्गुन, २०८०
काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिदैछन्। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
राजनीतिक असमझदारीका कारण कांग्रेस सँग गठबन्धन सत्ता गठबन्धन भत्किएपछि नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछन्।
प्रधानमन्त्री प्रचण्डले विश्वास पाउन बहुमतका लागि १३८ मत आवश्यक पर्छ । नेकपा एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २१, जसपा १२, एकीकृत समाजवादी १०, नाउपा ४, आजपा १ र स्वतन्त्र दुई सांसद (अमरेस कुमार सिंह र योगेन्द्र मण्डल) प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छन् । भने विपक्षमा नेपाली कांग्रेसका ८७, राप्रपाका १४, जनमतका ६, लोसपाका ४ र नेमकिपाका १ सांसद छन्।
विश्वासको मत लिने बारे संसद सचिवालयमा प्रधानमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ ।