राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २३ फाल्गुन, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) गठबन्धनको सहितको मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
आज बुधबार नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
शपथ लिएका एमालेको तर्फबाट मंत्रीहरूमा रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, राजेन्द्रकुमार राई, खानेपानी मन्त्री, पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री, बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री, भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, हरि उप्रेती, रक्षा मन्त्री र ज्वालाकुमारी साह, कृषि मन्त्री रहेका छन्।
त्यस्तै नेकपा (माओवादी केन्द्र) तर्फबाट मंत्रीहरूमा नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री, वर्षमान पुन, अर्थ मन्त्री, शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री, हितबहादुर तामाङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट मंत्रीहरूमा रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्री, सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री, डोलप्रसाद अर्याल (डिपी) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका छन्।
नेकपा एकीकृत समाजवादी तर्फबाट मंत्रीहरूमा भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा, सहरी विकास मन्त्री रहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।