राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ११ माघ, २०८०
काठमाण्डौं। राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । जम्मा १९ सिटका लागि भएको निर्वाचनमा कोशी प्रदेशमा एक एमालेकी उम्मेदार सहित सबै निर्वाचन क्षेत्रमा अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।
कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला गठबन्धनकै मतदाताले भोट क्रस गर्दा विजयी भएकी छिन् । ७ सय ३० धेरै मत लिएर राप्रपाका उद्धव पौडेललाई पराजितगरि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला विजय भएका छन्। । गठबन्धनकै उम्मेदवारले भोट नदिँदा माओवादीकी चम्पा कार्कीलाई एमालेकी उम्मेदवार काेइरालाले १०० मत बढीले पराजित गरेकी थिइन ।
यस्तै आज राष्ट्रीय सभाको निर्वाचनमा मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित हुनुभएको छ ।
बाग्मती प्रदेशमा पनि सत्ता गठबन्धनकै चार जना उम्मेदवार विजयी भएका छन् । महिला उम्मेद्वार कांग्रेसकी विष्णुदेवी पुडासैनी, कांग्रेसकै जितजङ्ग बस्नेत, माओवादीका कृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन ।
यस्तै गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा माओवादीबाट मनरुपा शर्मा र नेपाली कांग्रेसकै पदम परियार निर्वाचित भएका छन् ।
यता लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भएका छन् ।
यस्तै कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए । कर्णालीमा कांग्रेसका कृष्णबहादुर रोकाया, एकीकृत समाजवादीकी सावित्री मल्ल र माओवादी केन्द्रका विष्णुबहादुर विक निर्वाचित भएका छन् ।
सुदूरपश्चिममा पनि गठबन्धनकै तीन जना उम्मेदवार विजयी भए । माओवादीकी रेनु चन्द, कांग्रेसका नारायणदत्त भट्ट र कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।
निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा नगरेता पनि आज भएको राष्ट्रीय सभाको निर्वाचनमा सम्बन्धित प्रदेशहरूमा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजे शुरु भएको मतदान दिउँसो ३ बजे सम्म भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार आज भएको राष्ट्रीय सभाको निर्वाचनमा सातै प्रदेशमा प्रदेश सभाका ५ सय ४९ जना प्रदेश सभा सदस्यहरू मध्ये ५ सय ४६ जनाले मत हालेका छन् । यस्तै पालिकाका प्रमुख र उपप्रमुख गरी १४ सय ९७ जना मतदाता रहेकामा १४ सय ८६ जनाले मत हालेका निर्वाचन आयोगले जनाएको छ ।
आज भएको निर्वाचनमा तीन जना स्वतन्त्र मेयरहरूले मतदान भने बहिष्कार गरेका छन् । काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह, धनगढी उपमहानगरका गोपी हमाल र धरानका मेयर हर्क साम्पाङ राई मतदानमा सहभागी नभएको निर्वाचन आयोगले जनाएको छ ।
आउँदो फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि आज चुनाव भएको हो । आज निर्वाचित सदस्यहरूको कार्यकाल ६ वर्षको रहनेछ ।