राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २८ पुष, २०८०
काठमाडौं । माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।
निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।
सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवारहरूको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ र लुम्बिनी प्रदेशमा ६ जना उम्मेदवार छन् ।
कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा ६- ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।