राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ९ चैत्र, २०८२
२०८२ चैैैत्र ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सोमबार पनि सुनुवाइ हुँदै छ । आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको छ ।
सर्वोच्चको मागबमोजिम पेस भएको निर्णय संशोधनसम्बन्धी फाइलमाथि आज बहस हुनेछ। सर्वोच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा सुनुवाइ जारी छ ।
गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । तर, त्यसको दुई दिनपछि २ माघमा भने लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन गर्ने अर्को निर्णय गरिएको थियो ।
तर सर्वोच्चमा ३० पुसको निर्णय मात्रै पेश भएको पाइएको छ । त्यसपछि इजलासले २ माघको संशोधित निर्णय झिकाएर पेश गर्न आदेश दिएको हो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्, जसविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका हुन् ।