राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ८ जेष्ठ, २०८३
२०८३ जेष्ठ ०८ ,काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा खारेज गरेको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले साविकको अभियोगपत्र परिमार्जन गर्दै सहकारी ठगीतर्फको दाबी मात्र कायम रहने आदेश दिएको हो ।
महान्यायाधिवक्ता कार्यालयको पूर्वनिर्णय बमोजिम जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अभियोगपत्र संशोधनका लागि दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो । अदालतको यो निर्णयसँगै लामिछानेसहितका प्रतिवादीहरूले अब केवल सहकारी ठगीको अभियोगमा मात्र कानुनी प्रक्रियाको सामना गर्नुपर्नेछ ।
अदालतको आदेशमा सहकारीको बचत डुबेका जाहेरवाला (पीडित) हरूको मुख्य माग नै आफ्नो बचत रकम फिर्ता पाउनु रहेको र प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको मागदाबी उनीहरूको समेत नरहेको उल्लेख गरिएको छ ।
"संशोधनपछि पनि जाहेरवालाको मागबमोजिमको सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने नै देखिन्छ," आदेशमा भनिएको छ।अदालतले मुद्दा संशोधन नहुँदा कानुनी प्रक्रिया थप जटिल बन्ने र पीडितले बेलैमा न्याय नपाउने ठहर समेत गरेको छ ।
प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा कायमै रहँदा भविष्यमा हुन सक्ने मिलापत्र तथा पीडितहरूले बिगो रकम सहज रूपमा फिर्ता पाउने प्रक्रिया प्राविधिक र कानुनी रूपमा झन् बढी जटिल बन्न जाने आदेशमा व्याख्या गरिएको छ ।
लामिछानेसहितका प्रतिवादीहरूमाथि सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको अभियोगमा यसअघि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहित तीनवटा कसुरमा मुद्दा चलाइएको थियो । अदालतको पछिल्लो आदेशले मूल मुद्दा (सहकारी ठगी) लाई यथावत राख्दै अन्य दुईवटा विशिष्ट प्रकृतिका दाबीलाई भने अभियोगपत्रबाट हटाउने अनुमति दिएको हो ।