सोमबार, २५ जेष्ठ, २०८३

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ जेष्ठ, २०८३

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन

२०८३ जेष्ठ २१, काठमाडौं ।संविधान संशोधनका लागि बहसपत्र तयार गर्न प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी महत्वपूर्ण सुझाव संकलन गरेको छ । नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ कार्यदलले पूर्वराष्ट्रपतिद्वयको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई छलफल गरेको हो ।

छलफलका क्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गरेर मात्र बहसपत्र तयार पार्न कार्यदललाई सुझाव दिएका छन्। नेपाली जनताको ठूलो संघर्ष र बलिदानबाट जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राख्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता मुख्य स्तम्भहरूलाई अक्षुण्ण राख्दै नयाँ पुस्ताका बदलिँदा माग र भावनालाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा विशेष जोड दिएका छन् ।

यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा झण्डै दुईतिहाइ मत ल्याएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनको यो ऐतिहासिक राजनीतिक प्रक्रिया सुरु गर्नु सकारात्मक भएको भन्दै कार्यदलको कार्यशैलीको सराहना गरिन् । संविधान आफैंमा एउटा राजनीतिक सम्झौताको दस्तावेज भएकाले निर्णायक मत बोकेका दलहरूबीच आपसी र बृहत् राष्ट्रिय सहमति कायम गरी संशोधन प्रक्रिया अघि बढाउनुपर्ने उनको धारणा छ ।

साथै, उनले संविधानमा सुनिश्चित गरिएको महिलाहरूको एकतिहाइ सहभागिताको उपलब्धिलाई रक्षा गर्दै यसलाई अझ बढी व्यावहारिक बनाउनुपर्नेमा समेत जोड दिएकी छन् ।

advertisement_1676553851.gif