राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ८ आश्विन, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानविनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न ढिलाई गरिरहेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन गदैं ओलीले सरकार सुन तस्करीको छानविन गर्न नहुने अडानमा रहेको र छानबिन आयोग गठन गर्न ढिलाई गरिरहेको आरोप लगाएका हुन् ।
एमाले अध्यक्ष ओलीले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गरे । ओलीले छानविन गर्नका लागि आयोग आवश्यक रहेकाले शक्तिशाली बनाउनुपर्ने बताउँदै विद्युतिय चुरोटबाट आएका सुन लगाएतका तस्कारीमा सरकारमा बस्नेको नै हात रहेको जिकिर गरे । ६ बर्ष अघिदेखि नागरिकता दिएर नै तस्कर तयार गरेको तर्क गर्दै उनले सुन कारोवारमा अरवौंको लगानी गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने बताए ।
आफू सरकारमा हुँदा विप्लव र सिके राउतको समूहलाई वार्तामार्फत नै शान्तिपूर्ण गतिविधिमा ल्याएको भन्दै विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका प्रावधानमा शिक्षकका असन्तुष्टिलाई वार्तामार्फत सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
अध्यक्ष ओलीले सहायक रथी यम बहादुर अधिकारीको म्याद थप गरेर वर्तमान सरकारले सेनामा समेत बेथिति सुरु गरेको आरोप लगाए ।
ओलीले कार्यकर्तालाई आत्मकेन्द्रित नभई सबल राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । नेतृत्व समेत चयन गर्ने अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि सहभागी रहेका छन् । उद्घाटन समारोहमा नेताहरुले सकेसम्म सहमति र नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।