राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १७ पुष, २०८२
२०८२ पुष १७, काठमाडौं । नेपाल–चीन जोड्ने रसुवा नाकामा अस्थायी पुल (बेलिब्रिज) निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि आजदेखि उक्त नाका सञ्चालनमा आएको हो ।
गत असारमा आकस्मात् आएको बाढीले मितेरी पुल बगाउँदा सामान लिएर आउँदै गरेका नेपालका सयौँ गाडी चीनतर्फ रोकिएका थिए । ६ महिनादेखि चीनमा अड्किएका नेपाली गाडी आजदेखि नेपाल आउन थालेका छन् ।
सिन्धुपाल्चोकको तातोपानी नाका २०७२ सालको भूकम्पपछि बन्द भएपछि रसुवाको यो नाका व्यापारका दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ । पर्यटनको हिसाबले पनि रसुवा नाका महत्त्वपूर्ण छ ।
चीनस्थित हिमताल फुट्दा ठूलो बाढीसहित नाकामा रहेको मितेरी पुल बगाएको थियो भने भन्सार क्षेत्र, निर्माणाधीन सुक्खा बन्दरगाहसमेत प्रभावित भएको थियो ।
खासगरी नेपाल–चीन व्यापार कनेक्टिभिटी जोड्ने मितेरी पुल बगाउँदा दुई देशबीचको व्यापार प्रभावित हुन पुगेको थियो । सोही स्थानमा बेलि ब्रिज बनेसँगै दुई देशबीचको सम्बन्ध पुनः सुचारु भएको छ । बिहीबारदेखि नेपाल–चीन जोड्ने मितेरी पुल पुनः सञ्चालनमा आएको रसुवागढीस्थित भन्सार कार्यालयले जनाएको छ । योसँगै नेपाल–चीन व्यापार सहजीकरण हुने भएको छ ।
खासगरी चिनियाँ विद्युतीय गाडी, स्याउ, लत्ता कपडा आयात हुने यस नाका छ महिनादेखि प्रभावित हुँदा निकै सकस भएको थियो । साथै, अर्को उत्तरी नाका तातोपानीसमेत बाढी पहिरोका कारण लामो समयदेखि सडक सञ्जाल प्रभावित हुँदा नेपाल–चीन व्यापारमा निकै सास्ती भइरहेको थियो ।
यसको विकल्पमा उपल्लो मुस्ताङबाट विद्युतीय सवारी आयात गर्न थालिएको थियो । तर, अब छोटो र सहज स्थलमार्ग रसुवागढीबाटै अब गाडी लगायतका वस्तु आयात गर्न सकिने भएको छ । बाढीले पुल बगाउनेबित्तिकै चिनियाँ पक्षबाटै उक्त स्थानमा बेलिब्रिज बनाउने कार्य थालेको थियो । उक्त कार्य सम्पन्न भएसँगै नेपाल–चीन व्यापार सहज भएको हो ।