शुक्रबार, २९ जेष्ठ, २०८३

बाढी र पहिरोले सडक मर्मतका कारण मुख्य राजमार्गहरुमा यातायात प्रभावित

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

बाढी र पहिरोले  सडक मर्मतका कारण मुख्य राजमार्गहरुमा यातायात प्रभावित

२०८३ जेष्ठ २९, काठमाडौं । देशका विभिन्न स्थानमा परेको वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ । बाढी, पहिरो र मर्मत कार्यले गर्दा धेरै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द रहेका छन् ।

काठमाडौँ उपत्यका जोड्ने सतुङ्गल-चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ । चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मर्मत कार्यका लागि यो सडक अझै एक महिना बन्द रहने जानकारी दिइएको छ ।

भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ । खोटाङको पङ्खु खोलामा खसेको पहिरोका कारण जेठ २ गतेदेखि नै यातायात पूर्ण रूपमा ठप्प छ ।

ईलामको पुवाखोलामा आएको बाढीका कारण मेची करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग प्रयोग गर्न सकिने जनाइएको छ।

बीपी राजमार्गकाे काभ्रेपलाञ्चोक खण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ २२ गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ । यो सडक जेठ १५ गतेदेखि बन्द रहेको हो ।

advertisement_1676551694.gif