राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १६ भाद्र, २०८३
२०८३ भदौ १६ नुवाकोट । रसुवाको माथिल्लो क्षेत्र (भोटेकोशी) हुँदै आएको त्रिशूली नदीको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ । बाढीले पुरेको एउटै घरभित्र लेदोले थिचिएको अवस्थामा २२ जनाको शव फेला परेको छ ।
बाढी आएको छैटौँ दिन सोमबार खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीको टोलीले उक्त घरभित्र एकै ठाउँमा २२ वटा शव फेला पारेको हो । सोमबार टोलीले लेदो पन्छाएर ६ वटा शव बाहिर निकालेको छ भने बाँकी १६ वटा शव मंगलबार बिहान निकालिने भएको छ ।
बाढीको वितण्डा सुरु भएपछि ज्यान जोगाउन ती मानिसहरू सुरक्षित स्थान ठानेर सोही घरमा भेला भएको अनुमान गरिएको छ । धेरै दिनसम्म हिलो र लेदोमा पुरिएका कारण फेला परेका शवहरू पहिचान गर्नै नसकिने अवस्थामा पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (एसपी) विपिन रेग्मीले बेत्रावतीको सो घरभित्र ठूलो संख्यामा मानवीय क्षति भएको पुष्टि गरेका छन् । सोमबार कठिन परिस्थितिका बीच केही शव निकालिएको र बाँकी शव निकाल्ने काम मंगलबार बिहानैदेखि पुनः सुरु गरिने उनले जानकारी दिए ।
यसैबीच, स्थानीयस्तरबाट भने उद्धारमा ढिलाइ भएको भन्दै आक्रोश व्यक्त गरिएको छ । स्थानीय पत्रकार लक्ष्मण डंगोलका अनुसार सो घरभित्र मानिसहरू थिचिएको आशंकामा तत्काल खोजी तथा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्म ध्यानाकर्षण गराउँदा पनि समयमै सुनुवाइ हुन सकेको थिएन ।