राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ९ फाल्गुन, २०८२
२०८२ फागुन ०९, काठमाडौं । दाङको तुलसीपुरमा नेकपा एमालेको 'सुर्य' अंकित झण्डा जलाएको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–६ का २४ बर्षीय बिक्रम परियार र तुलसीपुर – ४ का रमेश राना मगरलाई राति पक्राउ गरेको हो ।
बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो । त्यसपछि प्रहरीले एमाले झण्डा जलाउनेको खोजी थालेको हो ।
रास्वपाका कार्यकर्ताले झण्डा जलाएको भन्दै नेकपा एमाले आपत्ति जनाएको छ, भने शुक्रबार बेलुका दाङको तुलसीपुर काठमाडौंलगायत विभिन्न ठाउँमा मसाल जुलुस तथा विरोध र्याली निकालेका थिए । त्यस्तै नेकपा एमालेका युवा विद्यार्थीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन (बालेन्द्र शाह) को पुत्ला जलाएका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार एमालेको झण्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी छ ।