राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ४ असार, २०८२
४ असार २०८२, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कार्यान्वयन नगर्न आदेश जारी गरेकाे हो ।
अदालतले पाण्डेले दायर गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश गरेको छ ।
‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू-दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा उल्लेख छ ।