राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
६ जेठ २०८२, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा पौडेललाई नियुक्त गरेको हो ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिबारे छलफल भएको थियो । अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी रहेको बैठकमा सहमति जुटेपछि गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढेको हो । यससँगै राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर विवाद टुंगिएको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरेकोमा सरकारले पौडेललाई नियुक्त गरेको हो ।
उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए, जसबाट राजीनामा दिएर संसदीय राजनीतिमा गएका थिए । चितवनका पौडेल गत संसदीय निर्वाचनमा चितवन क्षेत्र नं १ बाट काँग्रेस उम्मेदवार भएका थिए ।