राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ कार्तिक १८ काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र विभिन्न विवादित घटनाक्रमहरूप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपसभापति शर्माले लोकतन्त्रमा सञ्चारमाध्यमलाई त्रासमा राख्ने र पत्रकारहरूलाई दुःख दिने काम कदापि स्वीकार्य नहुने स्पष्ट पारे । “कुनै देशमा लोकतन्त्र छ कि छैन भन्ने कुरा त्यहाँको प्रेस स्वतन्त्रताले निर्धारण गर्छ । मिडियालाई दबाब र त्रासमा राखियो भने त्यो व्यवस्था लोकतान्त्रिक हुन सक्दैन,” उनले भने ।
सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै उनले प्रहरी महानिरीक्षक (आइजीपी) फेरबदल गर्ने कदमको आलोचना गरे। “यो संवेदनशील समयमा सरकारले गर्नुपर्ने काम के थियो र के गर्दैछ? आइजीपी हटाउनु अहिलेको मुख्य प्राथमिकता हो?” भन्दै शर्माले प्रश्न गरे ।
सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको टिप्पणी गर्दै उनले मतदाताले दिएको मतको सरकारले सम्मान गर्न नसकेको आरोप लगाए । कांग्रेसले सरकारलाई ५ वर्ष निर्वाध चल्न दिने पक्षमा रहे पनि सरकारको कार्यशैली भने गैरजिम्मेवार बनेको उनको भनाइ थियो ।
भ्रष्टाचार र विचौलिया प्रवृत्तितर्फ संकेत गर्दै शर्माले एक व्यक्ति (विचौलिया) को मोबाइल नियन्त्रणमा लिएपछि त्यसभित्रका सामग्री प्रधानमन्त्रीका सल्लाहकारसम्म कसरी पुगे भन्नेबारे गम्भीर प्रश्न उठाए । “एक जनाको मोबाइल कब्जा गरेपछि त्यो सामग्री प्रधानमन्त्रीको सल्लाहकारकहाँ कसरी पुग्यो? यो कुन मर्यादा र प्रणालीअन्तर्गत पर्छ? प्रधानमन्त्री कार्यालय श्रम शिविर हो?” उनले कडा शब्दमा प्रश्न गरे ।
सार्वजनिक भएका अडियो प्रकरणबारे टिप्पणी गर्दै उहाँले ती सबै अडियोहरू कपोलकल्पित, भ्रामक र नियोजित रहेको दाबी गरे । यस प्रकरणमा संलग्न पात्रहरूको वास्तविक अनुहार समयक्रमसँगै जनतासामु स्पष्ट हुँदै जाने उनको भनाइ थियो ।
साथै, कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भई अदालत र निर्वाचन आयोगबाट समेत वैधानिकता पाइसकेकाले पार्टीको वैधानिकतामाथि बारम्बार प्रश्न उठाउनु अदालत, निर्वाचन आयोग र महाधिवेशन प्रतिनिधिहरूकै अपमान हुने शर्माले स्पष्ट पारे । शर्माले पार्टी र नेतृत्वमाथि उठेका जुनसुकै प्रश्न र छानबिनको सामना गर्न तयार रहेको स्पष्ट पारे ।