बिहीबार, ११ भाद्र, २०८३

खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्न  प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह

२०८३ भदौ १० काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गर्दै राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले विपद्‌मा परेका नागरिकको जीवन रक्षा, खोजी तथा राहत कार्यलाई थप तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

संवादका क्रममा प्रधानमन्त्री शाहले बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको विवरणबारे राष्ट्रपतिलाई अवगत गराएका थिए ।

प्रधानमन्त्री शाहले प्रभावितहरूको उद्धार, स्वास्थ्य उपचार र राहतका लागि राज्यका सबै सुरक्षा तथा प्रशासनिक अंगहरू परिचालन गरिएको र सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका थिए ।

यसअघि राष्ट्रपति पौडेलले भोटेकोशीको आकस्मिक बाढीबाट भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय र आम नागरिकलाई एकजुट हुन आह्वान गरेका थिए ।

उनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत अपिल गरेका छन् ।

advertisement_1676551646.gif