राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार ०४, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा विभिन्न मन्त्रालयगत शीर्षकहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने मुख्य कार्यसूची रहेको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनेछन् ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकहरूमाथि उठेका प्रश्न र जिज्ञासाहरूको समेत सम्बन्धित मन्त्री तथा जिम्मेवार पदाधिकारीहरूले स्पष्टीकरण दिने कार्यसूची तय गरिएको छ ।
मन्त्रालयगत जवाफ सकिएलगत्तै आजको बैठकमा सभामुखले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
त्यसपछि बैठकको अन्तिम कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।