राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ कार्तिक १३ काठमाडौँ । शुक्रबार सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले विज्ञप्ति जारी गर्दै पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति नलिइएको र अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको उल्लेख गरेको छ ।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको काउन्सिलको ठहर छ । पक्राउको कानुनी आधार र प्रक्रिया तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई अविलम्ब रिहा गर्न काउन्सिलले आग्रह गरेको छ ।
सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति भए वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परे त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी आफ्नो रहेको काउन्सिलले स्पष्ट पारेको छ । समाचारकै विषयमा प्रत्यक्ष प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा उसले जोड दिएको छ । यसका लागि नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ । साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा बिना कानुनी आधार नियन्त्रणमा राखिएकालाई तत्काल रिहा गर्न माग गरेको छ । साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै प्रेस काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि सदैव प्रतिबद्ध रहेको जनाएको छ ।
