राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८२ फागुन १६, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् ।
रोल्पा सदरमुकाम लिबाङको टुँडिखेलमा शनिवार आयोजित कार्यक्रममा उनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक अपिल गर्नेछन् ।
प्रचण्डको सचिवालयका अनुसार, चुनावअघि देशभर कुनै ठूला कार्यक्रम नरहेको र रोल्पाबाटै निर्णायक सन्देशसहित सम्बोधन गर्ने योजना रहेको छ । यो उनको चुनावी अभियानको महत्त्वपूर्ण कार्यक्रम हो ।
कार्यक्रमलाई भव्य बनाउन नेकपाले व्यापक तयारी गरेको छ । करिब १५ हजार मानिसले प्रत्यक्ष रूपमा कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ । १० वर्षे जनयुद्धका क्रममा प्रचण्डले रोल्पामा नै बढी समय बिताएका थिए । यस पटक उनी रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् भने उनको विश्वासपात्र वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट उम्मेदवार छन् ।
लिबाङको चुनावी सभालाई संयोजक प्रचण्डसँगै वर्षमान पुन, पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख ओनसरी घर्तीमगरलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।