शनिबार, १६ फाल्गुन, २०८२

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरूले नै देश जलाएका हुन्-रवि लामिछाने

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरूले नै देश जलाएका हुन्-रवि लामिछाने

२०८२ फागुन १५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएको आरोप लगाएका छन् ।

शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफूहरुलाई देश जलाउनेहरु भनेर आरोप लाग्ने गरेको बताउँदै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने र बालबालिकालाई गोली हान्नेहरुले नै देश जलाएको तर्क गरे ।

उनले भने,‘देश जलाउने मान्छेहरु भनेर हामीलाई आरोप पनि लगाइने गरेको छ । म फेरी पनि स्पष्ट पार्न चाहन्छु । पहिला स्कुलको ड्रेसमा आएका कलिला विद्यार्थीको छाती र टाउकोमा ताकि–ताकि गोली हानियो त्यसपछि मात्र संरचना जलाइयो । संरचना जल्नुहुँदैनथ्यो, तर गोली ठोकेर मान्छे मार्न हुँदैनथ्यो त्यहीबाट कुरा बिग्रियो । जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकालाई गोली ठोक्यो त्यसले जलाएको हो सिंहदरबार । त्यसैले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै मानिस हुन्, एउटै समुह हुन् र एउटै जात छ उनीहरुको अरु कोही होइन ।’

त्यस्तै उनले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि प्रमाण दिन नसकेको बताए । सुशासनको नयाँ रेकर्ड कायम गरी रास्वपाले अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाईमा लिएर जाने दाबी उनले गरे । अन्तराष्ट्रिय सम्बन्धलाई र साझेदारलाई मागि खाने भाँडो नभई गरिखाने अवस्था सृजना गर्ने उनको भनाई छ ।

उनले भने,‘ममाथि प्रमाण छ भनेको आज ६सय ५८ औं दिन भएछ । मेरो अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ । मैले त्यसको जवाफ दिएको थिएन । म आज चितवनबाट भन्छु मेरो अन्तिम इच्छा के हो फागुन २१ मा मतपत्रमा देखाइदिनु होला। जुन घट्नाले आज देश यो परिस्थितिमा आइपुग्यो । त्यो दुखद् घट्नालाई सुखद् गन्तव्यमा लिएर जानुपर्ने छ । हामीसँग कोही त्रसित हुनुपर्देन। सुशासनको नयाँ रेकर्ड हामी कायम गर्छौं । अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाईमा लिएर जान्छौं । अन्तराष्ट्रिय सम्बन्धलाई र साझेदारलाई मागि खाने भाँडो होईन । गरिखाने अवस्था सृजना गर्छौं  । हामी मागेर देश बनाउँदैनौं ।’

advertisement_1676551537.gif