राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ साउन १९, काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले मंगलबार बिदाइ शिष्टाचार भेट गरेकी छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको भेटमा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताए । उनले यस प्रक्रियामा युरोपेली संघको सकारात्मक सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेका थिए । साथै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, पूर्वाधार विकास र आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए ।
सभामुख अर्यालले हालै युरोपेली संघका सदस्य राष्ट्रहरूसँग संसदीय मैत्री समूह गठन भएको र निकट भविष्यमा युरोपेली संघसँग पनि यस्तो समूह गठन गरिने बताए । उनले संयुक्त आयोगका नियमित बैठक र उच्चस्तरीय भ्रमणले नेपाल–युरोपेली संघ सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।
राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका दौरान नेपाल सरकार, संघीय संसद् तथा नेपाली जनताबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै नेपाल र युरोपेली संघबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि अझ बलियो बन्दै जाने विश्वास व्यक्त गरिन् ।