शुक्रबार, २२ श्रावण, २०८३

तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व: नगरकोटी, खनाल र ताम्राकार कुलपति नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व: नगरकोटी, खनाल र ताम्राकार कुलपति नियुक्त

२०८३ साउन २२, काठमाडौँ । सरकारले देशका तीन महत्वपूर्ण कला-साहित्यिक प्रज्ञा प्रतिष्ठानहरूमा नयाँ नेतृत्व चयन गर्दै पदाधिकारी तथा सदस्यहरू नियुक्त गरेको छ। नवगठित नेतृत्वअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा चर्चित साहित्यकार कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा वरिष्ठ रङ्गकर्मी तथा लेखक ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा चित्रकार एरिना ताम्राकार नियुक्त हुनुभएको छ।

आ-आफ्नो विधामा देशभित्र र बाहिर विशेष ख्याति कमाएका यी तीनै जना नयाँ कुलपतिहरूले शुक्रबार आयोजित एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले तीनै जना नवनियुक्त कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

शपथ ग्रहणसँगै तीनै वटा प्रतिष्ठानहरूमा उपकुलपति तथा सदस्यहरूसहितको पूर्ण नयाँ टिमले आफ्नो औपचारिक जिम्मेवारी सम्हालेको छ। कला, साहित्य, नाट्य तथा ललितकलाको संरक्षण, संवर्द्धन र विकासमा लामो समयदेखि समर्पित व्यक्तित्वहरूले प्रतिष्ठानको नेतृत्व पाएकाले यस क्षेत्रको श्रीवृद्धिमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।

advertisement_1676998982.gif