सोमबार, १४ बैशाख, २०८३

घरेलु मैदानमा नेपालले लगातार दुई शृंखला खेल्ने, खेल तालिका सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ चैत्र, २०८२

घरेलु मैदानमा नेपालले लगातार दुई शृंखला खेल्ने, खेल तालिका सार्वजनिक

२०८२ चैत्र २२ काठमाडौँ।नेपाली क्रिकेट टोलीले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा लगातार दुईवटा त्रिकोणात्मक शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगामी अप्रिल र मे महिनामा हुने खेलहरूको तालिका सार्वजनिक गरेको हो।

यसअघि पश्चिम एसियामा उत्पन्न संकटका कारण स्थगित भएको शृंखलासहित नेपालले अब स्कटल्यान्ड र अमेरिकासँगको खेल पनि घरेलु मैदानमै खेल्ने निश्चित भएको छ।पहिलो शृंखलामा नेपालले ओमान र युएईको सामना गर्नेछ।यो शृंखला अप्रिल २५ देखि सुरु भएर मे ५ सम्म चल्नेछ। यसअघि ओमानमा हुने तय भएको यो शृंखला क्षेत्रीय तनावका कारण स्थगित भएपछि अहिले नेपालमा आयोजना गर्न लागिएको हो।

पहिलो शृंखला सकिएको एक साताभित्रै नेपालले अर्को बलियो शृंखला खेल्नेछ। मे १२ देखि २२ सम्म चल्ने यस शृंखलामा नेपालले स्कटल्यान्ड र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।दुवै शृंखलाहरू त्रिकोणात्मक ढाँचामा सञ्चालन हुनेछन्।

लिग-२ मा सहभागी ८ टोलीमध्ये नेपाल हाल कठिन अवस्थामा रहेको छ। नेपालले अहिलेसम्म खेलेका २० खेलबाट १२ अंक मात्र जोड्न सफल भएको छ। अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालका लागि घरेलु मैदानमा हुने यी दुई शृंखलाहरू शीर्ष स्थानतर्फ उक्लिन र ओडिआई (ODI) मान्यता जोगाउन निकै निर्णायक हुनेछन्।

क्यानले खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने संकेत गरे पनि थप प्राविधिक तयारी र सुरक्षा व्यवस्थाबारे काम भइरहेको जनाएको छ।घरेलु दर्शकको साथ पाउने भएपछि नेपाली टोलीले आफ्नो प्रदर्शनमा सुधार गर्ने अपेक्षा गरिएको छ।

advertisement_1680627706.gif