राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ जेष्ठ १, शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई मनोनीत गरेको छ ।
पार्टी सभापति गगनकुमार थापा ले श्रेष्ठलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन् । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम उनलाई कोषाध्यक्ष पदमा नियुक्त गरिएको हो ।
श्रेष्ठ यसअघि पनि शेरबहादुर देउवा पार्टी सभापति रहेका बेला कोषाध्यक्षको जिम्मेवारीमा रहिसकेका छन् ।
पूर्वराज्यमन्त्रीसमेत रहेका श्रेष्ठ व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै शिक्षा र कृषि क्षेत्रमा संलग्न हुँदै आएका छन् ।
उनी २०७८ साल मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। हालै सम्पन्न विशेष महाधिवेशनपछि उनलाई पुनः केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो ।