शनिबार, ९ जेष्ठ, २०८३

मधेश प्रदेशमा राजनीतिक समीकरण फेरियो: एमाले सरकारमा सहभागी हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ जेष्ठ, २०८३

मधेश प्रदेशमा राजनीतिक समीकरण फेरियो: एमाले  सरकारमा सहभागी हुँदै

मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा ठूलो फेरबदल भएको छ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान सरकारमा नेकपा (एमाले) सहभागी हुने निश्चित भएसँगै नयाँ राजनीतिक समीकरण बनेको हो।

नया कार्यविभाजनअनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार विकास तथा खेलकुद एवं समाज कल्याण मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् ।

मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपाका जवाहर लाल कुशवाहाले ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय सम्हाल्ने भएका छन्।

त्यसैगरी नेकपाकै कनिष पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बनेका छन् भने नेपाली कांग्रेसका शंकर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसका श्याम प्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपाकै फकिरा महतो गृह, सञ्चार तथा कानून मन्त्री नियुक्त भएका छन् भने एमालेबाट सरकारमा सहभागी भएका मोहम्मद समीरलाई विनाविभागीय मन्त्री बनाइएको छ ।एमाले सरकारमा सहभागी भएसँगै यसअघिको सत्ता साझेदार जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् ।

advertisement_1676551646.gif