राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ भदौ ३१ काठमाडौं । बाढी, पहिरो र सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरीले बुधबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केहीमा एकतर्फी आवागमन सञ्चालन भइरहेको जनाएको छ ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट- नेपालथोक-कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरूका लागि भदौ १६ गतेदेखि लागू हुने गरी विशेष नियम बनाइएको छ । अर्को सूचना नभएसम्म साँझ १९:०० बजेदेखि बिहान ०५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधनहरू सञ्चालन हुनेछन् । बिहान ०४:०० बजेदेखि साँझ १८:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधनहरू सुचारु गरिने जनाइएको छ ।
रसुवाका मुख्य सबै राजमार्गहरू भदौ १० गते बिहान १०:३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । नुवाकोटको टोखा-छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । भदौ ०१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि राति २२:०० बजेदेखि बिहान ०५:०० बजेसम्म गाडी चलाउन पाइने छैन ।
नुवाकोटकै पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका-१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ । धादिङको पृथ्वीलोकमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-०७ कृष्ण भिरमा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प छ । पृथ्वीलोकमार्गकै बेनिघाट रोराङ गाउँपालिका-१० ज्वाङखोलामा भदौ १६ गतेदेखि र शीतलबजारमा भदौ २६ गतेदेखि पहिरो पन्छाएर सडक एकतर्फी सुचारु गरिएको छ ।
चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा भदौ २२ गतेदेखि सडक मर्मतको काम भइरहेकाले गाडीको चाप हेरेर एकतर्फी रूपमा सवारी साधन सञ्चालन गराइएको छ ।
कर्णाली प्रदेशतर्फ हुम्लाको कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-६ खरीखेतमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
नेपाल प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाउँदै यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ ।