राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ बैशाख ०५, काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २१ दिन लामो अस्पताल बसाईपछि आज डिस्चार्ज भएका छन्। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका ओली स्वास्थ्य अवस्थामा सुधार आएपछि शनिबार घर फर्किएका हुन्।
गत चैत १४ गते पक्राउ परेलगत्तै मुटुको धड्कनमा गडबडी र अन्य स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा रहँदा उनको पित्तथैलीमा रहेको पत्थरीको सफल शल्यक्रिया गरिएको थियो। मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै चिकित्सकहरूको टोलीले उनलाई विशेष निगरानीमा राखेको थियो।
अस्पताल स्रोतका अनुसार, शल्यक्रियापछिको स्वास्थ्य परीक्षण र रिपोर्टहरू सकारात्मक देखिएपछि उनलाई डिस्चार्ज गर्ने निर्णय लिइएको हो। डिस्चार्ज हुनुअघि चिकित्सकहरूले उनलाई केही समय पूर्ण आराम गर्न र नियमित स्वास्थ्य फलोअपमा रहन विशेष सुझाव दिएका छन्।
पक्राउ परेपछि हिरासतमा रहँदै अस्पताल भर्ना भएका ओलीलाई अदालतको आदेशपछि गत चैत २७ गते नै हिरासतमुक्त गरिएको भए पनि शल्यक्रिया र थप उपचारका लागि उनी अस्पतालमै बसिरहेका थिए।