बिहीबार, ७ जेष्ठ, २०८३

विश्वविद्यालयहरुका उपकुलपति पदका लागि २१८ जनाद्वारा आवेदन, सबैभन्दा धेरै त्रिबिमा

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

विश्वविद्यालयहरुका  उपकुलपति पदका लागि २१८ जनाद्वारा आवेदन, सबैभन्दा धेरै त्रिबिमा

२०८३ जेष्ठ ०६ ,काठमाडौं ।मुलुकका विभिन्न आठवटा विश्वविद्यालयहरूको रिक्त उपकुलपति (भीसी) पदका लागि कुल २१८ जनाले आवेदन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खुला प्रतिस्पर्धाका लागि तोकिएको म्यादभित्र २१८ जनाको आवेदन परेको जानकारी दिएको हो।मन्त्रालयका अनुसार आवेदन परेका ८ विश्वविद्यालयमध्ये सबैभन्दा धेरै आकर्षण त्रिभुवन विश्वविद्यालय (त्रिबि) मा देखिएको छ।

देशकै सबैभन्दा जेठो र ठुलो यस विश्वविद्यालयको उपकुलपति बन्नका लागि ५० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयको उपकुलपति पदका लागि समान ३८/३८ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ। अन्य विश्वविद्यालयहरूमा राजर्षि जनक विश्वविद्यालयका लागि २७, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, र सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जनाले प्रतिस्पर्धामा भाग लिन आवेदन दिएका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति बन्न १५ जनाले इच्छा देखाएका छन् भने सबैभन्दा कम लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११ जनाको मात्र आवेदन परेको विज्ञप्तिमा उल्लेख छ।

    त्रिभुवन विश्वविद्यालय (त्रिबि) ५०जना, पूर्वाञ्चल विश्वविद्यालय ३८ जना,पोखरा विश्वविद्यालय ३८ जना ,राजर्षि जनक विश्वविद्यालय २७जना,मध्यपश्चिम विश्वविद्यालय २०जना ,सुदूरपश्चिम विश्वविद्यालय १९ जना,कृषि तथा वन विज्ञान विश्वविद्यालय १५जना,लुम्बिनी बौद्ध विश्वविद्यालय ११ जना गरि कुल आवेदन २१८ रहेको छ।

विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा अन्त्य गर्दै योग्य र सक्षम नेतृत्व चयन गर्न सरकारले गत वैशाख २५ गते अनलाइन माध्यमबाट खुला आवेदन आह्वान गरेको थियो। आवेदन संकलन भइसकेकाले अब प्राप्त शैक्षिक तथा व्यावसायिक कार्ययोजना र अन्तर्वार्ताका आधारमा छनोट समितिले उपयुक्त उम्मेदवारको नाम सरकारलाई सिफारिस गर्ने मन्त्रालय स्रोतले जनाएको छ।

advertisement_1676551694.gif