राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ साउन ३०, काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शनिबार बिहान करिब पौने ९ बजे टोखा–छहरे सडकखण्डमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएस्पी इकबाल हवारीले जानकारी दिए । दुर्घटनामा बसमा रहेका ५ जना महिलामध्ये काभ्रेपलाञ्चोकको बनेपा ८ बस्ने वर्ष ५४ की कृष्णमाया प्रजापती डंगोल र रामेछाम ठाडादेवी २ बस्ने वर्ष ६५ की उदयमाया खत्रीको मृत्यु भएको छ ।
घाइते हुनेमा काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, बनेपा–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखा मेलुङ–६ घर भई काठमाडौं काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन् । उनीहरूको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
काठमाडौंको दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ००५२ नम्बरको बस चालक र यात्रुहरू खाजा खान गएका बेला आफैं गुडेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको हरीले जनाएको छ ।