राष्ट्रिय सन्देश संबाददाता, ५७ मिनेट पहिले
२०८३ साउन २९, काठमाडौँ । संघीय संसद अन्तर्गत आज तीन वटा महत्वपूर्ण संसदीय समितिका बैठकहरू बस्दै छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज छुट्टाछुट्टै समयमा बस्न लागेको हो ।
आज बिहान १०:३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार र हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र सुझाव संकलन गर्ने कार्यसूची छ ।
यसका साथै बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिले पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने विषयमा पनि गहन छलफल हुनेछ ।
यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा देशमा मानव अधिकारको वर्तमान अवस्था र राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेका विभिन्न प्रतिवेदनहरूको कार्यान्वयनको स्थितिबारे छलफल गरिनेछ ।
दिउँसो २:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने परराष्ट्र मामिलासँग सम्बन्धित समसामयिक विषयमा क्षेत्रगत विज्ञहरूसँग छलफल र परामर्श गर्ने कार्यसूची तय गरिएको छ ।