शुक्रबार, २९ श्रावण, २०८३

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, ५९ मिनेट पहिले

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

२०८३ साउन २९, काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार कोशी र बागमती प्रदेशका आधा दर्जन बढी सडक खण्डहरूमा यातायात प्रभावित भएको छ ।

बागमती प्रदेशमा सबैभन्दा बढी सडक अवरोध देखिएको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी-४ को चारकिलो, वडा नं २ को कोदारी र लिपिङमा पहिरो खसेका कारण यातायात ठप्प भएको हो ।

यस्तै, धादिङको थाक्रे गाउँपालिका-६ आठकिल्लामा आजै बिहान २:१५ बजे पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया-५ खाल्टेमा बाढीका कारण त्रिशूली-मैजुङ-स्याफ्रुबेसी सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेको र यो तत्काल खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।

बिपी राजमार्ग र कान्ति लोकपथमा भने समय तालिका अनुसार सवारी सञ्चालनमा रोक लगाइएको छ । काभ्रेको खुर्कोट-नेपालथोक खण्डमा सम्भावित बाढीका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी, कान्ति लोकपथमा पनि राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ ।

कोशी प्रदेश अन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका-९ राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध छ। झापा-ताप्लेजुङ जोड्ने यो सडक साउन २३ गतेदेखि नै बन्द रहेको छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने बताइएको छ ।

लगातारको वर्षा र प्राकृतिक विपत्तिका कारण सडकको अवस्था अनिश्चित रहेकाले यात्रा गर्नुअघि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा आधिकारिक सूचना हेर्न यात्रुहरूलाई आग्रह गरिएको छ ।

advertisement_1676551694.gif