राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ साउन २९, काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।
दिउँसो १ बजे आयोजना गरिने उद्घाटन सत्रमा पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा भेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
लामो समय स्वास्थ्य उपचारका क्रममा विदेश बसेर हिजो (साउन २८ गते) मात्रै स्वदेश फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इतर समूहका नेता तथा कार्यकर्ताहरूले बाजागाजासहित भव्य स्वागत गरेका थिए । स्वास्थ्यलाभ गरी फर्किएलगत्तै देउवाले संस्थापनइतर पक्षले आयोजना गरेको यस भेलालाई सम्बोधन गर्न लागेका हुन् ।
इतर समूहका प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएपछि साउन ३० र ३१ गते बन्दसत्र सञ्चालन हुनेछ। तीन दिनसम्म चल्ने यस राष्ट्रिय भेलामा नयाँ नीति तथा कार्यक्रम तय गर्नका लागि करिब आधा दर्जन विषयगत प्रतिवेदनहरूमाथि घनीभूत छलफल हुने जनाइएको छ ।
देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने अनुमान गरिएको यस भेलाले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्नुका साथै संस्थापन पक्षसँगको शक्ति सन्तुलनमा महत्त्वपूर्ण रणनीति तय गर्ने आयोजक इतर पक्षको दाबी छ ।