आईतवार, ४ आश्विन, २०८३

नेकपा एमाले पुनर्गठन कार्यदल तथा सचिवालयको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

नेकपा एमाले पुनर्गठन कार्यदल तथा  सचिवालयको  बैठक बस्दै

२०८३ असोज ०४ काठमाडौँ Iनेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको सचिवालय बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ। आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा शीर्ष नेतृत्वबीच सहमति नजुट्दा दुई भिन्न मत देखिएपछि एउटै सहमतिपूर्ण प्रतिवेदन तयार पार्ने उद्देश्यले यो बैठक आह्वान गरिएको हो। विशेष गरी गत २१ फागुनको निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूले पार्टी पुनर्गठनको बहस चलाएका थिए त्यसपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरिएको थियो।

यसैबीच, पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदल बाहिरका नेता प्रदीप ज्ञवालीले २९ पृष्ठको बेग्लै समीक्षा प्रतिवेदन तयार गरी शनिबार नै कार्यदलका सदस्यहरूलाई पठाइसकेका छन्। ज्ञवालीको प्रतिवेदनसहित कार्यदलका विभिन्न मतलाई समेटेर साझा प्रतिवेदन बनाउन आजको बैठक निर्णायक हुने अपेक्षा गरिएको छ। कार्यदलको बैठकलगत्तै आजै दिउँसो १ बजे च्यासलमै एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने तय भएको छ। सचिवालय बैठकले भोलि असोज ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने केन्द्रीय कमिटी बैठकका कार्यसूची र एजेन्डाहरू अन्तिम रूपमा तय गर्नेछ।

advertisement_1676551537.gif