राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असोज ०४ काठमाडौँ I जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना गरेको छ ।
मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) अनुसार संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचनाभित्र रहने गरी यो नयाँ शाखा खडा गरिएको हो ।
उपसचिवको नेतृत्वमा रहने यस शाखाले जलवायु र वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वयको काम गर्नेछ ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन वा कोप जस्ता कार्यक्रमहरूमा सहभागिता जनाउने विषयमा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउन शाखा स्थापना गरिएको बताएका छन् ।
मुलुकको दीर्घकालीन हितलाई ध्यानमा राखेर हालका लागि शाखामार्फत काम सुरु गरिएको र भविष्यमा कार्यबोझका आधारमा यसको संस्थागत संरचनालाई थप सुदृढ बनाइने मन्त्री खनालको भनाइ छ ।
जलवायु परिवर्तनका प्रभाव तथा विपद्का घटनामा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकतालाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।