राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८३ साउन ०८, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबार सञ्चालन भइरहेका दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र मोबाइल एपमाथि प्रतिबन्ध लगाएको छ ।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी कार्यसूची अनुसार सट्टेबाजी र डिजिटल ठगी रोकथामका लागि यो कदम चालिएको हो। कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू २४ घण्टाभित्र बन्द गराउने निर्णय उल्लेख थियो ।
पहिलो चरणमा सट्टेबाजी साइटहरू बन्द गरिए पनि नयाँ नाम र डोमेनमा पुनः सञ्चालनमा आउने क्रम जारी रहेकाले विशेष निगरानी बढाइएको प्राधिकरणले जनाएको छ । फिफा विश्वकपको समयमा यस्ता बेटिङ एपको प्रयोग बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो देखाएपछि प्राधिकरणले विशेष कार्यदल (टास्क फोर्स) गठन गरी कारबाहीलाई तीव्रता दिएको थियो ।
कार्यदलका सदस्य एवं दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर अनलाइन बेटिङ र अवैध वित्तीय कारोबारका लागि प्रयोग भएका यूआरएलहरू पहिचान गरी ब्लक गरिएको हो ।
एउटा वेबसाइट बन्द गर्दा नयाँ डोमेनमा अर्को खुलिरहने भएकाले ‘थ्रेड इन्टेलिजेन्स टुल’ प्रयोग गरी निरन्तर अनुगमन (हन्टिङ) भइरहेको महतोले जानकारी दिनुभयो।