बिहीबार, ४ भाद्र, २०८३

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

२०८३ भदौ ०४ नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।

निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो ।

भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताए । पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ । नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगन्ज–पोखरा उडान सुरु गरिएको थियो ।

advertisement_1680627706.gif