बुधबार, ३ भाद्र, २०८३

बागमतीमा पार्टी निर्णयविपरीत सरकारलाई समर्थन गरेकोमा राप्रपाले थापालाइ कारबाही गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

बागमतीमा पार्टी निर्णयविपरीत सरकारलाई समर्थन गरेकोमा  राप्रपाले  थापालाइ  कारबाही गर्ने

२०८३ भदौ ०३ काठमाडौँ । बागमती प्रदेशमा पार्टीको केन्द्रीय नीति र निर्णयविपरीत नयाँ सरकार निर्माणका लागि समर्थन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।

एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन राप्रपा संसदीय दलका नेता थापाले समर्थन पत्र बुझाएपछि पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभा निर्माण प्रक्रियामा पार्टीले कुनै पनि दल वा गठबन्धनलाई समर्थन नगरेको स्पष्ट पार्दै, पार्टीको आधिकारिक निर्णयविपरीत बुझाइएको समर्थन पत्रबारे प्रदेश प्रमुखलाई समेत जानकारी गराइसकिएको बताएका छन्।

लिङ्देनले सामाजिक सञ्जालमार्फत पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमाथि कारबाहीको प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन् । यसैबीच, नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपासमेतको गरी ६३ सांसदको समर्थनसहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको बहुमत आवश्यक पर्छ। तर राप्रपा केन्द्रीय नेतृत्वले भने उक्त समर्थनलाई अमान्य र अनधिकृत भन्दै प्रदेश प्रमुखलाई दाबी मान्यता नदिन पत्राचार गरेको छ।

केन्द्रीय अध्यक्ष र प्रवक्ताले गम्भीर अनुशासन उल्लङ्घनको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने तथा दलको नेताबाट हटाउने तयारी गरिरहँदा संसदीय दलका नेता उद्धव थापाले भने प्रदेशको हितलाई ध्यानमा राखेर निर्णय लिइएकाले समर्थन कायमै रहने दाबी गरेका छन्। 

advertisement_1680627706.gif