राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ ०३ काठमाडौँ । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी नहुने भएका छन्।प्रधानमन्त्री नजाने भएपछि नेपालको तर्फबाट महासभामा भाग लिन जाने प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गर्दै आवश्यक स्वीकृति प्रदान गरेको छ। राष्ट्रसंघको महासभामा प्रायः मुलुकको तर्फबाट सरकार प्रमुख वा राष्ट्र प्रमुख स्वयं सहभागी हुने प्रचलन रहँदै आए तापनि यसपटक नेपालको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने तय भएको हो।
भदौमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पारित गरेसँगै परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल महासभामा नेपालको एजेन्डा प्रस्तुत गर्न न्युयोर्क जाने तयारीमा जुटेको छ। भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले जलवायु परिवर्तन, अल्पविकसित राष्ट्रका प्राथमिकता तथा विश्व शान्तिजस्ता मुख्य विषयहरूमा नेपालको धारणा राख्ने कार्यक्रम छ।