राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८२ मंसिर २, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन जेड आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भेटेकी हुन् ।
वीरेन्द्रनगर नगरपालिका-२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो । गोली लागेपछि उनले दुवै आँखा गुमाएकी हुन् ।
उनका बुवा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्याउनेमाथि कारबाही हुनुपर्ने माग गरे । उनले आफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, चार वर्षीया छोरी र बुवा आमाको सहारा गुमेकोमा चिन्ता पनि व्यक्त गरे ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँलाई धेरै दुःख परेको छ, त्यो त मैले बुझिरहेको छु। किनभने हामी पनि आमाबाबु हौँ । सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पनि महसुस गर्न सक्छु । तर यो समस्या तपाईँको मात्र होइन । उपचारका लागि सम्भव हुन सक्ने जति सबै उपाय लगाऔँला । बच्चाको पढाइ, श्रीमतीको कामको लागि पनि पहल गरौँला । चिन्ता नगर्नुहोस् ।’