मंगलवार, २ भाद्र, २०८३

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

२०८३ भदौ ०१, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश आह्वान भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

दावी पेशका लागि भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्मको समय दिइएको छ । प्रदेश सभाबाट विश्वासको मत लिनुअघि नै बानियाँले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

अब नयाँ सरकार गठनका लागि प्रदेश सभामा बहुमत जुटाउने प्रयास सुरु भएको छ । १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।

नेकपा र नेकपा एमालेबीचको गठबन्धनले अन्य दलको समर्थन जुटाएर सरकार गठन गर्ने तयारी गरेका छन् । दुई दलबीचको भागबण्डाअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेले पाउने सहमति भएको बताइएको छ । तर एमालेभित्रै संसदीय दलको नेताको विषयमा विवाद देखिएको छ । वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध आफ्नै दलका १६ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको छ ।

भक्तपुरका किरण थापा मगरलाई संसदीय दलको नेता बनाउन माग गर्दै गत साउन २७ गते अविश्वास प्रस्ताव दर्ता गरिएको हो । एमालेले मंगलबार संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकबाट अविश्वास प्रस्तावको टुंगो लागेपछि मात्रै बागमतीको भावी मुख्यमन्त्रीको नाम स्पष्ट हुने देखिएको छ ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

advertisement_1676553851.gif