राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ भदौ ०४ हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री थापाले आफ्नै दल नेकपा एमाले, सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट ६ जनालाई मन्त्रीमा नियुक्त गरेका छन् ।
नेकपा एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। यसअघि उनी वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा थिए । मुख्यमन्त्री थापालाई चयन गर्न प्रभावकारी भूमिका खेलेका दोलखाका केसी पुनः मन्त्री बनेका छन् ।
त्यस्तै एमालेकै ज्ञानबहादुर तामाङलाई बिनाविभागीय मन्त्री बनाइएको छ भने नेकपासँगको भागबण्डा टुंगिएपछि उनको जिम्मेवारी तोकिने बताइएको छ । उता, नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । नेकपाले दुई मन्त्रालय पाएकोमा अर्को मन्त्री भने पछि नियुक्त हुनेछन् ।
यस्तै, राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन् । बागमतीमा कुल ८ वटा मन्त्रालय रहने व्यवस्था रहेको र बाँकी मन्त्रालयहरूमा समेत छिट्टै नियुक्ति हुने जनाइएको छ ।