राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
०८३ साउन २५ ,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढ्नु खुसीको विषय भएको उल्लेख गर्दै यसबाट कपडा आयातमा नेपालको निर्भरता घटाउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार आफू प्रधानमन्त्री रहेका बेला हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गरिएको थियो । त्यसकै आधारमा आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसहित गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानाजस्ता सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय समेटिएको थियो ।
सरकार परिवर्तनपछि अघि बढेको प्रक्रिया रोकिए पनि अहिले पुनः त्यसलाई अगाडि बढाउन खोजिनु सकारात्मक भएको प्रचण्डको भनाइ छ ।
उनले सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई समेत आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनर्जीवित गर्न सके मुलुकको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उल्लेखनीय योगदान पुग्ने बताएका छन् ।
उत्पादन विस्तार, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई एकसाथ अघि बढाउन सार्वजनिक उद्योगहरूको पुनरुत्थान महत्वपूर्ण हुने उल्लेख गर्दै प्रचण्डले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको कामलाई परिणाममुखी रूपमा अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।