सोमबार, २५ श्रावण, २०८३

युवा मन्त्रालय खारेज भएको छैन : मन्त्री यादव

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

युवा मन्त्रालय खारेज भएको छैन : मन्त्री यादव

०८३ साउन २५ ,काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा मन्त्रालय खारेज नभएको स्पष्ट पारेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ मार्फत युवाको विषयमा समन्वय र नेतृत्व गर्ने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयको व्यवस्था गरिएको बताएका हुन् ।

‘सम्माननीय सभामुख महोदय, सबैभन्दा पहिले म यस सम्मानित सदनमार्फत स्पष्ट गर्न चाहन्छु—युवा मन्त्रालय खारेज भएको छैन । नेपाल सरकारले युवाको मामिलालाई उच्च प्राथमिकता दिँदै नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ मार्फत युवाको विषयमा समन्वय र नेतृत्व गर्ने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयको व्यवस्था गरेको छ,’ उनले भने ।

युवालाई देशभित्रै रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले सीप विकास, रोजगारी, नेतृत्व विकास तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम सञ्चालन भइरहेको मन्त्री यादवले जानकारी दिए ।

युवा सवाल एउटा मात्र मन्त्रालयको कार्यक्षेत्रमा सीमित नभई शिक्षा, स्वास्थ्य, रोजगारी, सीप, सूचना प्रविधि, उद्यमशीलता, जलवायु परिवर्तन, खेलकुद, नवप्रवर्तन तथा सामाजिक नेतृत्वसँग जोडिएको बहुआयामिक विषय भएको उनको भनाइ थियो ।

विभिन्न मन्त्रालय तथा निकायले आ–आफ्नो कार्यक्षेत्रअनुसार युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले ती कार्यक्रमलाई जोड्ने, समन्वय गर्ने र राष्ट्रिय प्राथमिकतासँग मिलाउने नेतृत्वदायी जिम्मेवारी युवा, श्रम तथा रोजगार मन्त्रालयलाई दिइएको समेत उनले बताए ।

मन्त्री यादवले राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी तथा युवासम्बन्धी विषयमा नेतृत्वदायी निकायका रूपमा विकास गरिने बताए । युवाको हित संरक्षण र संवद्र्धन गर्दै सक्षम, सिर्जनशील, नैतिक एवं सभ्य नागरिक तयार गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् क्रियाशील रहेको उनले जानकारी दिए । परिषद्ले युवा नेतृत्व विकास, युवाका सवाललाई सरकारी नीतिमा मूलप्रवाहीकरण तथा सीप विकासलगायतका क्षेत्रमा काम गर्दै आएको उनको भनाइ थियो।

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को समसामयिक पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको उनले बताए। राष्ट्रिय युवा ऐनको मस्यौदा नेपाल कानुन आयोगबाट तयार भई मन्त्रालयमा प्राप्त भइसकेको समेत उनले जानकारी दिए ।

मन्त्री यादवले युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्र निर्माणमा परिचालन गर्ने उद्देश्यले युवा नीति, २०८२ ल्याइएको बताए  । उनका अनुसार नीतिमा युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन, युवा सवाल, रोजगारीका अवसरमा रहेका चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवलाई समेटिएको छ ।

‘यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सीपयुक्त, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो,’ उनले भने। युवालाई नेतृत्व, सीप र रोजगारीसँग जोड्ने गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको मन्त्री यादवले बताए ।

advertisement_1676998982.gif