सोमबार, २५ श्रावण, २०८३

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

२०८३ साउन २५ ,काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

तत्काल प्राप्त प्रमाण, उनको तत्कालीन पदीय हैसियत र भूमिकालाई आधार मान्दै अदालतले थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने आदेश दिएको हो ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आइतबार कार्कीसँग १५ लाख रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारेखमा राख्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको दाबीसहित दायर गरेको मुद्दामा कार्कीलाई समेत प्रतिवादी बनाएको छ । आयोगले उनीसँग ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो माग दाबी गरेको छ ।

अख्तियारले कार्की अर्थमन्त्री रहेका बेला विमानस्थल निर्माणको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङलाई मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका महसुलमा छुट दिने गरी ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’मा प्रावधान राखिएको र त्यसबाट राज्यलाई आर्थिक नोक्सानी पुगेको दाबी गरेको छ ।

सोही आधारमा आयोगले कार्कीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ३ बमोजिम कसुर गरेको अभियोग लगाउँदै कैद तथा बिगोबमोजिम जरिवानाको माग गरेको छ ।

विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोप छ ।

advertisement_1676553908.gif