राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
०८२ चैत्र १७, काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले पार्टीभित्रको आन्तरिक संघर्षलाई थप व्यवस्थित र सशक्त ढंगले लैजाने उद्घोष गरेका छन् । मंगलबार नेता पूर्णबहादुर खड्काको नेतृत्वमा काठमाडौंमा सम्पन्न भेलाले हालै सम्पन्न विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधानिकता दिन नसकिने निष्कर्ष निकालेको हो।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला संस्थापन इतर पक्षका नेताहरूको यो भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेलामा सहभागी नेताहरूले विशेष महाधिवेशनको नेतृत्वले पार्टीको आन्तरिक संवेदनशीलतालाई बुझ्न नसकेको र स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाएका छन्।
पार्टी नेतृत्वको विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले 'बलबिचाइ' गर्न खोजेको बैठकको ठम्याइ छ ।प्रचलित विधान, नियमावली र परम्परालाई चुनौती दिँदै स्वघोषित रूपमा सभापतिका रूपमा हस्ताक्षर गरेको भन्दै बैठकमा सहभागीहरूले गगन थापालाई सभापति स्वीकार गर्न नसकिने बताए।
सहभागी नेताहरूले कानुनी र राजनीतिक रूपमा अझै पनि १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति नै वैधानिक रहेको दाबी गरेका छन्।मुलुकमा पार्टीको पराजय र लोकतन्त्र नै कमजोर भइरहेका बेला नेतृत्व झन् बढी सतर्क र जिम्मेवार हुनुपर्नेमा उल्टो बाटो हिँडेको उनीहरूको तर्क छ।
छलफलमा सहभागी केही नेताहरूले भने तत्काल समानान्तर गतिविधि गर्दा पार्टी झन् कमजोर हुने भन्दै संयमता अपनाउन सुझाव दिएका थिए । उनीहरूले पार्टीलाई बलियो र एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।
मंगलबारको बैठकमा सबै सदस्यहरूले धारणा राख्न नभ्याएका कारण यो छलफल बुधबार पनि जारी रहने बताइएको छ । बुधबारको बैठकले भावी रणनीति र अदालती प्रक्रियाका विषयमा थप ठोस निर्णय लिने अनुमान गरिएको छ ।