राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ भदौ ०९ काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहरण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यको समेत उपस्थिति रहेको थियो। शपथ लिने तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सांसद हुन् ।
शपथ लिनेमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गत साउन १२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता सहकार्यको प्रक्रिया अघि बढेको थियो। वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेकपाबाट तीन र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी सहमति भएको छ । सोही राजनीतिक सहमति अनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
पुनर्गठनसँगै मन्त्रिपरिषद्का अन्य सदस्यहरूको जिम्मेवारीमा समेत फेरबदल गरिएको छ । यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, कृषि मन्त्रालय सम्हाल्दै आएका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसैगरी, मन्त्रिपरिषद्का अन्य सदस्यहरूमा रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ ।